काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएकाे छ । आज दिउँसाे शिलामा पसिना निस्किएपछि क्षमापूजा गरिने भएको छ ।
शनिबार दिउँसो १ बजेर ४७ मिनेटमा ‘पसिना’ देखिएपछि जिल्ला प्रशासनदेखि प्रहरी, नेपाली सेना लगायतलाई खबर गरिएको थियो । भीमेश्वरको शिलाबाट पानीको थोपा देखिन थालेपछि मन्दिर परिसरमा उक्त ‘पसिना’ पुछेको कपास लिने सर्वसाधारणको भीड लागेको थियो । दिउँसो ३:५१ मात्रै ‘पसिना’ आउन रोकिएको बताइएकाे छ ।
यहाँकाे मन्दिरमा पसिना आएपछि देशमा अनिष्ट हुने बताइन्छ । त्यसैले राष्ट्रप्रमुखबाट क्षमा पूजा गर्नु पर्ने मान्यता छ । यहाँका स्थानीयका अनुसार, भीमेश्वरको शिलाबाट ‘पसिना’ आएपछि ठूलै परिवर्तनको संकेतका रुपमा पनि लिने जनविश्वास छ ।
उक्त शिला पुछिएको कपास राष्ट्रप्रमुख (राष्ट्रपति)लाई बुझाउने परम्परा यसअघि देखि नै चलिआएको छ । स्थानीयका अनुसार अहिलेसम्म यहाँ २१ पटकसम्म ‘पसिना’ आएको छ। भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि ‘पसिना’ आएको बताइन्छ । जतिबेला देशमा केही महत्वपूर्ण घटना र परिवर्तनहरु भएका थिए ।