काठमाडौं । असार २८ गते नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएकोमा भारतीय विज्ञ टोलीले खोज्दासमेत फेला पार्न सकेको छैन।
दुर्घटनाको एक हप्तापछि गत शनिबार आएको भारतीय टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेर हिजो (साउन ६ गते) देखि ‘सोनार क्यामरा’सहित खोजीकार्य सुरु गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो (आइतबार) सिमलतालदेखि घुमाउनेसम्म करिब ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको जनाएको छ।
आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ। असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा र काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए।