काठमाडौं ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताको कार्यान्वयनमा निरन्तरता दिने सिफारिस अमेरिकी सरकारले गरेको छ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयद्वारा सोमबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई अघि बढाउन सिफारिस गरेको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार सन् २०२५ जनवरी २० भित्र पुनरावलोकन गर्ने सर्तसहित सन् २०२२ सेप्टेम्बर १५ (२०७९ भदौ २९) मा एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु गरिएको थियो। सोही सन्दर्भमा एमसीसीले २०२५ जुलाई २८ (साउन १२) मा पुनरावलोकन प्रक्रिया सम्पन्न गरी नेपाल सरकारलाई औपचारिक जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा कम्प्याक्ट कार्यान्वयनमा निरन्तरता दिने निर्णयसम्बन्धी सूचना प्राप्त भइसकेको र यसबारे सम्बन्धित सरकारी निकायहरूलाई जानकारी गराइएको उल्लेख गरिएको छ।
यस निर्णयसँगै एमसीसी अन्तर्गतका ऊर्जा प्रसारणलाइन तथा सडक स्तरोन्नतिको काम थप तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।