काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने संकेतप्रति गहिरो असहमति जनाएका छन्। बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा बोल्दै उनले “दुई कार्यकाल राष्ट्रको सर्वोच्च पदमा रहेकी व्यक्तिले फेरि राजनीतिमा फर्किन्छिन् भन्ने कल्पना गर्न पनि नसकिने” धारणा व्यक्त गरे।
महासचिव पोखरेलले आफूले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवारी दिने बेलामै उपयुक्तता नहुने विचार राखेको स्मरण गराउँदै भने, “उमेर र क्रियाशीलताको हिसाबले म उहाँ राष्ट्रपति बन्न उपयुक्त हुनुहुन्न भन्ने विचारमा थिएँ। उहाँकै निवासमा गएर पनि इच्छा नगर्दा राम्रो हुने सुझाव दिएँ। तर पार्टीको निर्णयपछि हामी सबैले उहाँलाई सर्वसम्मत रुपमा राष्ट्रपतिको उम्मेदवार बनायौं।”
पोखरेलका अनुसार एमालेको नवौं केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीलाई ‘सम्मानित’ जीवन यापन गर्नुपर्ने निर्णय गरिसकेको छ। “अब उहाँ राजनीतिमा फर्किनुहुन्छ भन्ने हामीले सोचेकै थिएनौँ। तर उहाँमा त्यो धैर्यता देखिएन,” पोखरेलले टिप्पणी गरे।
उनले भण्डारीलाई पार्टी नीति र निर्णयलाई मनन गर्न आग्रह गर्दै पार्टी पद्धतिको पालना आवश्यक भएको बताए।
एमाले महासचिव पोखरेलले पार्टी नेतृत्वमा ‘दुई कार्यकाल’ सम्बन्धी बहसलाई “अनावश्यक, भ्रमपूर्ण र तथ्यहीन” भनेका छन्। उनले यो विषयले पार्टीको प्रतिष्ठामा आँच पुर्याउने गरी उठाइएको जिकिर गरे।
उमेर सिमाको सन्दर्भमा उनले ७० वर्षे उमेर हद लोकतान्त्रिक मूल्य मान्यता र विशेषता विपरीत नरहेको जिकिर गर्दै, “कस्तो पार्टी हुने भन्ने कुरा मदन भण्डारीको विचारले नै बताउँछ। नेतृत्व अलौकिक, रहस्यमय पात्र हुनु हुँदैन। जनताबाट अनुमोदनित हुनु जरुरी छ,” उनले जोड दिए।