काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले १५ साउनमा विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौँडामा दर्ता गराएका छन् ।
एमाले–कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने पत्र दर्ता गराएका सभामुख भुवन पाठकले जानकारी दिए ।
उनको पत्र अनुसार सभामुख पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरिएको जानकारी दिए । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त गरेका छन् ।