काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको जानकारी दिए । उनले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताए । उनले नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताए ।
‘‘प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शङ्का तपाईंहरुलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ । हामी सबै जना प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ । हामी शतप्रतिशत प्रेस स्वतन्त्रताको पक्षमा छौँ,’’ मन्त्री गुरुङले भने, ‘‘त्यसैले हाम्रो नियतमा कुनै त्यस्तो प्रश्न नउठाउनु होला । हामी सबै प्रतिवद्धता जाहेर गरेर आएको हो । प्रेसलाई नियमन गरौँ न भनेको हो । नियमन पनि मन्त्रालयले नगर्ने, मन्त्रालयको विभागले नगर्ने, एउटा अलग्गै स्वायत्त संस्था खोलेर त्यसबाट गरौँ । नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन सबै त्यसैले गरोस् । सरकार, मन्त्रालय प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ ।’’