काठमाडौं । सरकारले तीन वटा प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो।
मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन्।
यस्तै सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस भएका छन् ।
यस्तै चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको छ । ती देशमा नयाँ राजदूत सिफारिस गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।