काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ ।
सोमबार साँझ नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको बैठकमा उनको नाम सर्वसम्मतिले अस्वीकृत भएको नेकपा एमालेकी सचेतक सुनिता बरालले जानकारी दिइन् ।
बैठक बस्नेअघि नै प्रधानले नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिबाट अस्वीकृत हुने भएपछि उनले नाम फिर्ता लिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।
‘…प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकोले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम (५) बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय गरियो’ समितिको निर्णयमा भनिएको छ ।