काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय भएको छ।मन्त्रिपरिषदको बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधबार जानकारी दिए।
अवकास हुन लागेका प्रधानसेनापति प्रभुराम शर्माले सिग्देललाई साउन २४ गते कमाण्ड हस्तान्तरण गर्ने तयारी रहेको जंगी अड्डा स्रोतले जानकारी दिएको छ।
भदौ २५ गतेदेखि प्रधानसेनापतिको कार्यकाल पूरा गरेर अवकास हुन लागेका शर्मा साउन २५ गतेबाट बिदामा बस्नेछन्। सिग्देल प्रधानसेनापतिमा नियुक्त भने भदौ २४ गतेपछि मात्रै हुनेछन्। नेपाली सेनामा अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमान्ड बरबुजारथ गर्ने चलन छ।
नेपाली सेनामा बलाधिकृत रथीलाई नै प्रधानसेनापति बनाउने चलन छ। सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन्। प्रधानसेनापतिको लाइनमा रहेका ताराध्वज पाण्डेले राजीनामा दिएपछि उनी गएको मंसिरमा रथीमा बढुवा भएका थिए।
सिग्देलले आफ्नो व्यावसायिक सैन्य शिक्षा नेपाल र विदेशमा लिएका थिए। उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेनिल डिफेन्स युनिभर्सिटीबाट स्नातक गरेका छन्। यसका साथै उनले नेपालको आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।