काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार अन्तिम समयमा आएर फेरि स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक बस्नै नपाई स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
यसअघि शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि सारिएको थियो। तर १५औं महाधिवेशनको मितिबारे पार्टीभित्र सहमति नजुटेपछि आजको बैठक पनि स्थगित गरिएको हो।
शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले सहमतिको प्रयास गरे पनि असफल भएको थियो। बैठकमा महामन्त्रीहरू र संस्थापन पक्षबीच फरक–फरक कार्यतालिका प्रस्ताव भएका थिए। महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशनको मिति महासमिति सदस्यहरूको भोटिङमार्फत टुंग्याउनुपर्ने प्रस्तावसमेत गरेका थिए।
कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेताहरूबीच पुनः छलफल गर्ने तयारी गरेका छन्।
अब कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी कार्तिक १८ गते दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। सो बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।

