काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय दिएका हुन् ।
केन्द्रमा कांग्रेस–एमालेबीच बनेको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । उक्त दाबीमा एमालेले पनि समर्थन गर्ने छ ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । आज साँझसम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ ।
मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी रहेको देखिएको छ । अरू दुई आकांक्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन् ।
यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएको भन्दै अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन् ।
योसँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौं मुख्यमन्त्री बन्ने भएका छन् । कांग्रेसले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ ।