काठमाडौं । तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार पारिएको छ । शल्यक्रिया कक्षको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेका छन् ।
२०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारीसमेत गरेको छ।
शल्यक्रिया कक्षको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री पौडेलले अस्पतालको थप स्तरोन्नति र विकासका लागि संघीय सरकारको सहयोग रहने बताए।
गाउँपालिकाले पालिकास्तरीय अस्पताल सञ्चालन गरेर यस भेगका जनतालाई दिएको सेवा सकारात्मक रहेको मन्त्री पौडेलको भनाइ छ। अस्पतालका प्रमुख डाक्टर डिबी क्षेत्रीले गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रियाकक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको बताए।अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। अस्पतालले प्रसूती, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरू गर्ने तयारी गरेको छ।
अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ।
अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ। अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन्।