काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी सञ्चालनको मूल्यमान्यता, विधान र पद्धतिको धज्जी उडाइएकाे आराेप लगाएका छन् । उनले बैठकमा पेस गरेकाे राजनीतिक प्रस्तावमा नेतृत्वकै असक्षमताका कारण एकातिर प्रणाली स्थापित हुन नसकेकाे र अर्काेतिर संगठन पनि बलियाे हुन नसकेकाे उल्लेख छ ।
संगठन स्वरुप र कमिटीहरू कुन बेला कस्तो बन्छन् भन्ने कुराकाे कुनै ठेगान नै नभएकाे शर्माले प्रस्तावमा उल्लेख गरेका छन् । माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि पनि युद्धकालीन सोचले काम गरेको आरोप पनि शर्माले लगाएका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय सहमतिमा ओर्लिंदा त्यसमा सहभागी समूह र शक्तिलाई पार्टीमा कसरी संगठित र रुपान्तरित गर्ने भन्ने अहम् प्रश्न थियो । त्यसका लागि सोच, योजनालगायतका युद्धकालीन कमाण्ड प्रणालीलाई लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रुपान्तरण आवश्यक थियो । तर, संगठनात्मक संरचना र नेतृत्व प्रणालीमा युद्धकालीन सोचकै निरन्तरता रह्यो ।’
प्रस्तावमा उनले पार्टीभित्रका समस्या शीर्षकमा नाैवटा बुँदा राखेका छन् । उनले ६ नम्बर बुँदामा भनेका छन्, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहित गर्न राज्यशक्तिकाे समेत दुरुपयोग भएको आभाष भयो ।’
पार्टी निमार्णका लागि अबको कार्यनीति भन्ने शीर्षकमा संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थव्यवस्था र गन्तव्य परिभाषित गर्नु आजको मुख्य कार्यभार भएको उनले उल्लेख गरेका छन् । साढे चार दशकदेखि राज्यले अख्तियार गर्दै आएको नवउदारवादी अर्थतन्त्रबारे पार्टीको स्पष्ट धारणा आवश्यक रहेको उनकाे भनाइ छ । ‘एकातर्फ नवउदारवादी पुँजीवाद लागू गरिरहनु र अर्काेतर्फ समाजवादको पक्षपोषण गरिरहनु कुनै पनि अर्थमा तालमेलयुक्त देखिँदैन । त्यसबारे स्पष्ट हुन जरुरी छ,’ शर्माकाे प्रस्ताव छ ।
अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका शर्माले नेतृत्व हस्तान्तरणको कुरासमेत उठाएका छन् ।