काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका ९ हिलेटक्सरमा मौरी मह संकलन केन्द्र स्थापनाका लागि ग्रामीण सामुदायिक विकास केन्द्र(आरसीडीसी)ले सामग्री प्रदान गरेको छ । संकलन केन्द्र स्थापनाका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) ले १ लाख १० हजार बराबरको सामग्री प्रदान गरेको हो ।
संकलन केन्द्र स्थापना गर्नका लागि आवश्यक पर्ने सामग्री वडा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) का कार्यक्रम अधिकृत दुर्गाप्रसाद ढुंगानाले वडा अध्यक्ष आशिष तामाङलाई हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष तामाङले असोज कात्र्तिक र मंसिर महिनामा मह काढ्ने सिजन चल्ने भएकाले वडामै उत्पादन भएका महलाई वडामै प्रशोधन गर्नका लागि वडाले मह प्रशोधन केन्द्र स्थापना गर्न लागेको बताए ।
वडाले आरसीडीसीको सहयोगमा वडामै मह प्रशोधन केन्द्र स्थापना गर्न लागेको बताउँदै यसबाट मह उत्पादन गर्ने कृषकलाई मह प्रशोधनमा सहज हुनुका साथै शुद्ध मह बिक्री गर्न पाउने विश्वास व्यक्त गरे । आरसीडसीका कार्यक्रम अधिकृत दुर्गाप्रसाद ढुंगानाले दोर्दी ९ मौरी पकेट क्षेत्रसमेत भएको र मह उत्पादन धेरै हुने भएकाले मह प्रशोधनमा सहज बनाउनका लागि एकीकृत पोषण तथा उत्थानशील जिविकोपार्जन कार्यक्रमअन्तर्गत सामग्री प्रदान गरेको बताए । वडामै मह प्रशोधन केन्द्र स्थापना हुँदा उत्पादन भएका मह प्रशोधन गर्न मिल्नुका साथै महको गुणस्तरसमेत कायम रहने बताए ।
मह प्रशोधन केन्द्र स्थापनाका लागि हिलट्याङ्क १ वटा, कुर्ची १२ वटा, अफिस टेबल १ वटा, अफिस दराज स्टिलको १ वटा, ओपान ¥याक २ वटा, मह राख्ने बट्टा (४ सय ग्राम)को २ सय वटा र ७ सय ५० ग्रामको २ सय वटा गरी ४ सय वटा, डिजिटिल तराजु (१ सय ५० केजी) क्षमताको १ वटा, त्रिपाल १ वटा, ह्वाईटवोर्ड १ वटा, भवन पेन्टिङका लागि २८ केजी कलर प्रदान गरेको वडा कार्यालयले जनाएको छ । मह संकलन केन्द्र समिति अध्यक्ष नेत्रजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, मौरीपालक कृषक समूहलगायतको सहभागिता रहेको थियो ।
वडामा रहेको हिलेटक्सार स्वास्थ्य चौकीलाई मर्मत गरी मह प्रशोधन केन्द्र स्थापना गर्न लागिएको वडा अध्यक्ष तामाङको भनाइ छ । वडामा उत्पादन भएका महलाई वडामै प्रशोधन गर्नका लागि प्रशोधन केन्द्र स्थापना गर्न लागिएको उनले बताए । भदौ महिनाको अन्तिमबाट भवन मर्मत कार्य सुरु गरिने छ । वडा कार्यालयको ५० हजार बजेटबाट मर्मत कार्य गरिने तामाङले बताए । वडा नं. ९ मौरी पकेट क्षेत्र भएको यस क्षेत्रमा मौरी र मह उत्पादन राम्रो हुने भएकाले वडाले मह उत्पादनलाई जोड दिँदै आएको अध्यक्ष तामाङले बताए ।