काठमाडौं । सत्तारुढ दलहरुबीच सरकार र संसदको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार संसदको कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि बढाउने विषयमा छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताएका छन् ।
उनले सरकारका समग्र काम प्रक्रियाहरुमा सिंगो सत्तापक्ष कसरी एकीकृत धारणाका साथ अघि बढ्ने ? भन्नेबारेमा पनि छलफल भएको बताए । उनले न्युनतम साझा कार्यक्रमको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरुबाट निर्णय भइसकेकाले सरकार निर्माणताका भएको सात बुँदे सम्झौताअनुसार नै सरकारको न्युनतम साझा कार्यक्रम बन्ने बताए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रुपमा सरकारका न्युनतम साझा कार्यक्रम बनाउने बताए । उनले सात बुँदे सहमतिलाई अझ विस्तृत गर्नेगरी सरकारको न्युनतम साझा कार्यक्रम आउने बताए ।