काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ। बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शिर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ।’
उपसभामुख रानामगरले राष्ट्रसङ्घको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्। चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन्।
२०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो। पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन्।
बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामाथि उठेको विषय सामान्य नभएको बताए।
उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ। कांग्रेसको शीर्ष तहको बैठकले उपसभामुखलाई हटाउनका लागि थप छलफल सत्ता गठबन्धनमा गर्ने निर्णय लिएको छ।