काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।
हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्चत मूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाइ कम्पनीहरुलाई सहुलियत दिएका थियौं । तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ । नागरिकमाथी प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ । यस विषयले म निकै दुखी भएको छु ।’
यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गरे ।
हवाई भाडा बृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह पनि गरेका छन् ।
मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलेसमेत अचाक्ली हवाईभाडा लिएकोप्रति सचेत पनि गराए ।
नागरिकहरुले हवाईभाडाबृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउदै २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहिबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा बृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे । मन्त्रालयका सचिव डा गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न पनि गरेका छन् ।