काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुंगा–नौबिसे–मुग्लिन सडक निर्माणको नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्। निर्माणाधीन सडकको बुधबार स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी निकायलाई यस्ताे निर्देशन दिएका हुन्।
निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्ने उनकाे भनाइ छ। नागढुंगा–नौबिसे–मुग्लिन, नौबिसे –मलेखु तथा मलेखु–मुग्लिन खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइन सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिए।
मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखहरुलाई निर्देशन दिए। कुनै पनि बहाना र कारणले निर्माणमा ढिलासुस्ती नगर्न र कामको परिणाम देखिने गरी निर्माणमा द्रुतता दिन उनकाे आग्रह छ। सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको बताए।