काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । ३३ वर्षीय पुडासैनीको शुक्रबार राति निधन भएको हो । पुडासैनी शुक्रबार राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेका थिए । चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
नुवाकोट स्थायी घर भएका पुडासैनीले हिमालय टाइम्स, रेडियो अन्नपूर्ण, प्राइम टीभी, माउन्टेन टीभी, जनता टीभीलगायतमा काम गरेका थिए । पछिल्लो समय उनी नेपालभ्युज अनलाइनको उपसम्पादक थिए ।
यसैबीच प्रेस चौतारी नेपालले पुडासैनीको निधनप्रति समवेदना प्रकट गरेको छ । महासचिव हिरामान लामाले शोक वक्तव्य जारी गर्दै पुडासैनीको निधनले प्रेस चौतारी नेपाल तथा श्रमजीवी पत्रकारिताका आन्दोलनमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।