काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेकलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदले संघीय ससदमा पेस गर्न स्वीकृति दिएको छ ।
गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए । त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो ।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो ।
मन्त्रिपरिषदको विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्ममा पेस गरिएको गृहमन्त्री लेखकले जानकारी दिए । उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए ।