काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकमाथि प्रदर्शनकारीहरूको भीडले आक्रमण गर्दा उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । शुक्रवार राति राजधानी बेरुत नजिकै उपरथी ढकाल सवार सवारी साधनमा उत्तेजित भिडले आक्रमण गर्दा उनी घाइते भएका हुन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पु¥याइएको थियो । अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए ।
घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेवनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको निर्देशनालयले जनाएको छ।
लेवनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।