काठमाडौं । रौतहटको मौलापुर नगरपालिका पतौरामा गुप्तकालिन ऐतिहासिक अर्को मन्दिर फेला परेको छ । पतौरामा यसअघि नै कर्नाटककालको शिवमन्दिरको अवशेषहरु फेला परेको थियो । जहाँ अहिले प्रत्येक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गरेको छ ।
मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले फेरी अर्को गुप्तकालिन मन्दिर फेला परेको जनाएकी छन् । पुरातात्विक विभागको उत्खनन पश्चात गुप्तकालिन मन्दिर फेला परेको पुरातात्विक विज्ञले जनाएका छन् ।
‘पुजा भईरहेको ठाउँमा भेटिएको मन्दिर कर्नाटककालको हो । उत्खननको क्रममा भेटिएको अर्को मन्दिर गुप्तकालको हो । पुरातात्विक विभागले उत्खनन कहिले गर्ने र छोड्ने कामले कतिपय बस्तुहरु नष्ट भईरहेका छन्’, मेयर साहले भनिन्, ‘उत्खनन गरी परिक्षणका लागि लागि चार बर्ष अघि यहाँबाट लगिएको बस्तुहरु पुरातात्विक विभागले अझै सार्वजनिक गरेको छैन्, कतिपय बस्तुहरु त नष्ट हुनसक्ने भएकाले त्यसलाई परिक्षण पश्चात सार्वजनिक गर्नुपर्ने हाम्रो माग हो । सरकारले पनि यसको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ ।’
पतौरामा पुरातात्विक विभागले उत्खनन जारी नै राखेको छ । तर मनलागेको बेलामा उत्खनन गर्ने र छोड्ने कामले कतिपय बस्तुहरु नष्ट हुन सक्ने भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने माग मेयर साहको रहेको छ ।