काठमाडौं । काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान २:५१ बजे भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प जाँदा मानिसहरु रातको समयमै घर बाहिर निस्किएका थिए। पहाडी र तराई दुवै क्षेत्रमा धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार केही घरमा सामान्य क्षति भएको छ भने एक जना बन्दी घाइते भएका छन् ।
भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन् । सहायक प्रजिअ नेपालीका अनुसार तामाङको अहिले चौतारा अस्पतालमा उपचार भइराखेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।
त्यसैगरी भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवनमा क्षति गरेको छ । सहायक प्रजिअ नेपालीका अनुसार ब्यारेक भवन चर्किएको हो । अन्य क्षतिको विवरण आउनेक्रममा रहेको उनको भनाइ छ । सहायक प्रजिअ नेपालीले उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी गराए ।