काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ ।
कूल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९.४७ किमी सडक कालोपत्रे भएको छ। चार लेनको उक्त सडकमा १५.३२ किमीमा दुईतर्फी र १४.१५ किमीमा एकतर्फी कालोपत्रे गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए।
उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो ।
पश्चिमतर्फ तनुहँमा दुई किमी सडक मात्र कालोपत्रे हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताए। कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रेको काम भइरहेको उनको भनाइ छ।
तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र काम सक्ने लक्ष्य लिइएको इञ्जिनियर नेपालले बताए।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो।
पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढी बजारलगायत ठाउँमा कालोपत्रेको काम भइरहेको इञ्जिनियर नेपालले जानकारी दिए।
पोखरा महानगरपालिका–२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए। पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रे भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा जति चार लेनको बन्ने इञ्जिनियर नेपालले बताए।
वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ। चिनियाँ निर्माण कम्पनीले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो।