काठमाडौं । सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझको समय लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आमसर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताएका हुन् ।
हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने बताएका हुन् । उनले भने, ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरेको छ ।
आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ, हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’
नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको मन्त्री खड्काको भनाइ थियो । उनले नेपालमा लोडसेडिङ अन्त्यका लागि भारतलाई धन्यवाद दिनुपर्ने दोहोर्याएका हुन् ।