काठमाडौं । मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारले जनचाहना अनुसार डेलिभरी दिन नसकेको निष्कर्ष निकालेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । आजको बैठकमा मन्त्रीहरुको समेत सहभागिता रहेको थियो ।
बैठकपछि बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भ्रातृ संगठन, सरकारको कामकारबाही, विपक्षीहरुको आरोप, गभर्नर नियुक्तिसहितका विषयमा छलफल भएको बताए । उनले गठबन्धन दलहरुबीच समन्वय भइ सरकारले अझ राम्रो डेलिभरी दिनुपर्ने कुरामा बैठकले जोड दिएको बताए । साथै सो विषयमा पार्टी नेतृत्वले प्रधानमन्त्रीसँग निरन्तर समन्वय गरिरहेको समेत बताए ।
‘सरकारको सन्दर्भमा पनि छलफल भयो । सरकारको परफर्मेन्स अझ बेटर हुनुपर्छ, बढी समन्वय गठबन्धन दलहरुबीच सन्तुलन हुनुपर्यो । अझ सशक्त रुपमा सरकारले डेलिभरी दिन सक्नुपर्छ र तालमेल राम्रो हुनुपर्छ भन्ने विषयमा साथीहरुले कुराकानी राख्नुभयो । त्यो विषयमा नेतृत्व तहले निरन्तर कुरा पनि गरिराख्या छौँ । जहाँ सुधार र समन्वयको आवश्यक्ता रहेको छ, त्यो कुरा हुन्छ र गराउँछौँ,’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले भने ।
त्यसो त पछिल्ला दिनहरुमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले सरकारले काम गर्न नसकिरहेको भन्दै आलोचना गरिरहेका छन् । आजको बैठकमा सो विषयमा समेत छलफल भएको र आपसी समन्वय हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
महामन्त्रीहरुले सरकारसँग असन्तुष्टि राखिरहनुभएको छ, यो विषयमा केही छलफल भयो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो विषयमा मैले नै भन्दै आएको छु । यस्ता विषयहरु बाहिर राख्नुभन्दा सम्बन्धित संरचनामा राख्नुपर्यो, त्यहाँबाट आएको निष्कर्षका आधारमा बाहिर बोल्नुपर्ने वा नपर्ने र त्यसपछि मात्रै बोल्नुपर्छ भनेर मैले नै राख्या थिएँ । त्यस विषयमा आज उहाँहरुले आफ्नो कुराहरु पनि राख्नुभयो । हामीले भन्या कुराहरुलाई उहाँहरुले महसुस पनि गर्नुभा छ ।’
त्यति मात्र होइन गभर्नर नियुक्ति र सरकारको काम गराइबारे प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत विरोध जनाइरहेका छन् । पछिल्ला दिनहरुमा प्रचण्डले कांग्रेसले सरकार बनाए आफूहरुले सघाउने समेत बताउँदै आइरहेका छन् । जसकारण प्रचण्डको अभिव्यक्तिलाई सरकार परिवर्तनको संकेतका रुपमा समेत हेरिँदा प्रवक्ता महतले भने त्यसमा गम्भीर हुन नपर्ने टिप्पणी गरे ।
‘प्रतिपक्षी दल सरकारको विपक्षमा रहने हुनाले यो सरकार ढलिहालोस् भन्ने उहाँहरुको धर्म नै हो । त्यही भएर उहाँहरुले भनेको कुरामा हाम्रो टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन,’ उनले भने ।