काठमाडौं । नेपालले जम्मु-कश्मीरमा एक नेपालीसमेत कम्तीमा २७ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलाको निन्दा गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार बिहान विज्ञप्ति जारी गरी जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणको विरोध गर्दै भारत र भारतीय जनताप्रति ऐक्यबद्धता जनाएको हो।
‘निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपालले स्पष्ट रूपमा निन्दा गर्दछ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘हामी शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको लागि हार्दिक कामना गर्दछौँ।’
अगाडि भनिएको छ, ‘नेपाल यस दुःखको समयमा भारत सरकार र जनतासँग दृढ ऐक्यबद्धतामा उभिएको छ। हाम्रो दृढ र सैद्धान्तिक अडानअनुरूप नेपालले सबै प्रकारका आतंकवादको निन्दा गर्दछ र आतंकवादका यस्ता जघन्य अपराधलाई कुनै पनि आधारमा उचित ठहराउन सकिँदैन।’