काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालयमा फर्किने वातावरण मिलाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो ।
सर्वोच्चले शिक्षकहरू पठनपाठन छोडेर आन्दोलनमा उत्रिनुपर्ने अवस्था राम्रो मान्न नसकिने पनि भनेको छ। ‘नियमित पठनपाठनमार्फत समाजलाई आदर्श र नैतिकताको मार्गदर्शन गर्नुपर्ने गहनतम जिम्मेवारी भएका विद्यालय शिक्षकहरु लामो समयसम्म विद्यालय छाडी आन्दोलन गर्ने वा त्यसरी आन्दोलन गर्नुपर्न अवस्था उत्पन्न गर्नु गराउनुलाई कदापि वाञ्छित परिस्थिति मान्न सकिंदैन’ सर्वोच्चले भनेको छ,’आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू।’
अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ । ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने’ आदेशमा भनिएको छ ।
शिक्षकहरुको आन्दोलनका कारण ११ वैशाखदेखि तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखलाई सारिएको छ । अदालतले अब फेरि परीक्षा नसार्न आदेश दिएको हो । अदालतले माध्यमिक शिक्षा (एसईई) को बोर्डको परीक्षाफल समयमै प्रकाशन हुने व्यवस्था मिलाउन समेत आदेश दिएको छ ।सर्वोच्चले आजका बालबालिका भोलिका कर्णधार भन्दै वर्तमानमा गुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्रै देश र समाजलाई डोर्याउन सक्ने जनशक्ति उत्पादन हुने बताएको छ।