काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समय नटिक्ने संकेत गरेका छन् ।
‘जनतासँग माओवादीः तराई-मधेश जागरण अभियान’अन्तर्गत कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो संकेत गरेका हुन् ।
‘अहिले शिक्षकहरू आन्दोलनमा छन्, डाक्टर पनि आन्दोलित भएका छन् । सहकारीपीडितको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘तर, वर्तमान सरकार जायज माग पूरा गर्नतर्फ नभएर अपमानित गर्न लागेको छ । शिक्षकमाथि दमन गरिरहेको छ । यो लोकतन्त्रविरोधी कार्य हो । मर्ने बेलामा कमिलाको प्वाँख आउँछ भन्थे । यो सरकार पनि मर्ने तिरै गइरहेको छ । बाँच्ने तरिका यो होइन ।’
अहिलेको सरकार भ्रष्टाचारी बचाउन बनेको अध्यक्ष प्रचण्डले आरोप लगाए । ‘राम्रो काम गरेका कुलमान घिसिङलाई सक्काएर छोडे,’ उनले भने, ‘सरकारले भ्रष्टाचारी र तस्करलाई संरक्षण गरिरहेको छ ।’