काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न सरकार अझै गम्भीर नभएको निष्कर्ष निकालेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले सरकार गम्भीर नभएकाले सडक आन्दोलनलाई कमजोर नबनाउने निचोड निकालेको हो । “हिजो रातिकै वार्तामा शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नदेखिएको पायौँ । त्यसैले गृहमन्त्रीले नै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभयो । शिक्षामन्त्रीले पनि के हो यस्तो भन्ने हिसाबले कुरा गर्नुभयो । अझै पनि सरकार गम्भीर छैन,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
सरकारले शिक्षा ऐन जारी गर्ने मिति दिन नसकेको उनको भनाइ छ । “सरकारले ऐन जारी गर्ने डेटलाइन दिन सकेकै छैन, त्यसैले आज पनि सहमति नहुने माहोल बन्न पनि सक्छ,” उनले भनिन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने सरकारसँगको वार्ता भाँडिन सक्ने चेतावनी दिएका छन् । उनले पनि आफूहरूका माग सम्बोधन नहुने स्थितिमा वार्ता नै भाडिन सक्ने भएकाले सडक आन्दोलनलाई बलियो बनाउनुपनर्ने बताएका छन् ।
“आजको वार्ता पनि सफल हुन्छ भन्ने छैन, साथीहरू । हामीले मागका कुराहरू सरकारले दिएन भने भाँडिन सक्छ । त्यसैले सडकमा सबै साथीहरू उपस्थित हुनुहोला,” सुवेदीले भने ।
शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।