काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली अर्थतन्त्रले अब ओरालो यात्रा तय नगर्ने दाबी गरेका छन् । चलचित्र विकास बोर्डले बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रलाई आफुले पुनः लयमा ल्याएको दाबी गरे ।
मुलुकको आर्थिक सुधार अब रोक्न नसकिने गरी अघि बढेको भन्दै उनले विश्वास व्यक्त गरे । उनले भने, ‘त्यसबेला जति अहिले राज्यको ढुकुटीमा पैसा छैन । तैपनि थालेका काम हामी पूरा गर्छौं । यसको लागि बजेट विनियोजन हुन्छ, र सफल पनि हुन्छ । अब अर्थतन्त्र त्रिशूलीमा खस्दैन ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुन लागेको ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियोलाई चलचित्र क्षेत्रका लागि एक प्रकारको ‘क्रान्तिकारी’ कदमको संज्ञा दिए । उनले यो स्टुडियोको माग चलचित्रकर्मीहरूले झन्डै छ दशकदेखि गर्दै आएको र अब आएर त्यो माग कार्यान्वयनमा आएको बताए ।
प्रधानमन्त्री ओलीका अनुसार उक्त स्टुडियोको निर्माणको निर्णय पहिलो पटक उनकै नेतृत्वको सरकारले गरेको भए पनि राजनीतिक अस्थिरता, सरकार परिवर्तन र जग्गा विवादका कारण काम अघि बढ्न सकेको थिएन ।