काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा भइरहेका ठगीका घटनाहरू सरकारका लागि गम्भीर चुनौती बनेको बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले वैदेशिक रोजगारीका लागि लालायित नेपाली युवाहरूलाई अवैध एजेण्ट र दलालहरूले लुटिरहेकाले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न अनुसन्धान संयन्त्रलाई सक्रिय बनाइएको जानकारी दिए ।
‘वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी मन्त्रालयको ठुलो चिन्ताको विषय बनेको छ,’ उनले भने, ‘यस्ता ठगीका उजुरी परेपछि नेपाल सरकारको अनुसन्धान संयन्त्रले कडाभन्दा कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।’
उनका अनुसार, श्रमिक ठगिएको उजुरीको अध्ययनका आधारमा दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र बनाइएको छ । मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि दक्ष र अर्धदक्ष नेपाली श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत रूपमा पठाउने तयारी भइरहेको पनि जानकारी दिए । उनले भने, ‘यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको छ । उच्च मानव अधिकार भएका मुलुकहरूमा श्रमिक पठाउन तयारी भइरहेको छ ।’