काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदमा पेश गरेको संघीय निजामती सेवा विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै विधेयकको प्रतिलिपि च्यातेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले उक्त विधेयक गरिब जनताको अधिकारमाथि प्रहार गर्ने गरी आएको भन्दै कडा आपत्ति जनाए । उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य र भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन ।’
साहले यो विधेयकले आर्थिक रूपले कमजोर वर्गलाई लोकसेवामा प्रतिस्पर्धा गर्ने अधिकारबाट वञ्चित गर्न खोजेको आरोप लगाए ।उनले चेतावनी दिँदै थपे, ‘यो विधेयक आयो भने गरिबका लागि कालो दिन हुनेछ । यसलाई समर्थन गर्नेहरूलाई इतिहासले माफी दिने छैन । ‘यस्तो अपराधिक कार्य’ को साक्षी बन्न नसक्ने भन्दै सांसद साह बैठक बहिष्कार गर्दै बाहिरिएका छन् ।