काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग देशका सातै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन, शीतल निवासमा आयोजित भेटका क्रममा प्रदेश प्रमुखहरूले आ-आफ्नो प्रदेशको अवस्था र हालको समसामयिक परिस्थितिबारे जानकारी गराएका छन्।
शिष्टाचार भेटमा सहभागी प्रदेश प्रमुखहरूमा कोशी प्रदेशका परशुराम खापुङ, मधेस प्रदेशकी सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेशका दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेशका डिल्लीराज भट्ट, लुम्बिनी प्रदेशका कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेशका यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेशका नजिर मियाँ रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा संघीयता सुदृढीकरण, समन्वय, स्थानीय प्रशासनको भूमिकासहित प्रदेशको विकास, सुशासन र सेवाप्रवाहका विविध पक्षमा छलफल भएको थियो।
राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरूलाई संविधानको मर्म अनुसार समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए। उनले समावेशिता, विकास र लोकतान्त्रिक अभ्यासको सुदृढीकरणमा प्रदेश प्रमुखहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै प्रदेशस्तरीय समस्या समाधानका लागि सक्रिय रहन आग्रह गरेका थिए।