काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सबै सरकारी सेवा र सुविधा त्यागेकी छन्। बुधबार उनले गृह मन्त्रालयमा सेवा–सुविधा नलिने निर्णयसहितको पत्र बुझाएकी हुन्। भण्डारीको स्वकीय सचिवालयमार्फत उक्त पत्र गृह मन्त्रालयमा दर्ता गरिएको हो।
भण्डारीले पत्रमा असार १८ गतेबाटै सेवा सुविधा नलिने निर्णय लागू हुने उल्लेख गरेकी छन्। उनले पाउने सुविधामा आवास, सवारी साधन, इन्धन, सचिवालय खर्चलगायतका सेवा सामेल छन्।
गत शनिबार मात्रै भण्डारीले नेकपा (एमाले) को सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन्। ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा उनले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको उल्लेख गर्दै सक्रिय राजनीतिमा फर्किएको बताएकी थिइन्।
राजनीतिमा पुनः सक्रियता जनाएपछि पूर्वराष्ट्रपतिको रूपमा सेवा र सुविधा लिनु उपयुक्त नहुने ठहर गर्दै उनले यो निर्णय लिएको स्रोतले जनाएको छ।