काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ। माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै फ्रान्समा निर्मित एयरबस कम्पनीको हेलिकप्टर नेपाल भित्र्याएको हो।
कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार हेलिकप्टरलाई चीनको तियाजिन सहरबाट ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको हो। कन्टेनरमा राख्न हेलिकप्टरका पंखा लगायतका भागहरू फुकालिएको थियो। अहिले तातोपानी भन्सार नाकामा जाँचपास र पुर्जाहरू जडानको काम भइरहेको छ।
भुसालले यसअघि कम्पनीले कलकत्ता बन्दरगाह हुँदै वीरगञ्जबाट हेलिकप्टर ल्याएको भए पनि तातोपानी नाका प्रयोग गरिएको यो पहिलोपटक भएको जानकारी दिए। भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले पनि आफ्नो कार्यकालमा तातोपानी नाकाबाट पहिलो हेलिकप्टर आयात भएको बताए।
उक्त हेलिकप्टर आयातमा एक प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्नेछ। माउन्टेन हेलिकप्टरले समुद्री बाटोभन्दा छिटो र सुविधाजनक भएकाले चीनको बाटो हुँदै हेलिकप्टर ल्याएको हो।
भुसालका अनुसार जाँचपासपछि उक्त हेलिकप्टर माउन्टेन फ्लाइटका लागि प्रयोग गरिनेछ। यससँगै कम्पनीसँग तीनवटा हेलिकप्टर रहनेछ।