काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक सुविधासहितको हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ। नेपाल आयल निगमले ३६ लाख लिटर (३६०० किलोलिटर) इन्धन भण्डारण क्षमताको यो डिपो पहिलो पटक स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी, सीप र पुँजी प्रयोग गरेर निर्माण गरेको हो।
परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवका अनुसार निगमको ५५ वर्षको इतिहासमा झण्डै ७५ करोड रुपैयाँ लागतमा निर्माण भएको यो सबैभन्दा ठूलो परियोजना हो।
डिपोमा १२०० किलोलिटर क्षमताका तीन वटा स्टोरेज ट्याङ्क स्थापना गरिएको छ। विमानस्थल परिसरमै निर्माण गरिएको यो डिपोबाट पोखरामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक हवाई इन्धन सहज रूपमा आपूर्ति गर्न सकिनेछ।
इञ्जिनियर यादवका अनुसार स्वदेशी प्रविधि र स्रोतसाधनको प्रयोग गरेर निर्माण गरिएको यो डिपो नेपालका लागि इन्धन पूर्वाधार क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धी हो।
यसले पोखराबाट सञ्चालन हुने उडानहरूको सेवा क्षमता बढाउने मात्र नभई, आपूर्तिमा विश्वसनीयता र सुरक्षालाई समेत थप मजबुत बनाउने विश्वास गरिएको छ।