काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अबदेखि खादा, माला तथा कुनै संस्था वा समूहको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोग गर्न पाइने छैन।
बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयले सूचना जारी गर्दै अध्यागमन क्षेत्र अत्यन्त संवेदनशील र सुरक्षामूलक भएकाले यस्ता सामग्रीहरूमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, “यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरू सबैका लागि लागू हुने गरी अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन।”
कार्यालयका अनुसार यस्ता वस्तुहरूले सुरक्षा जोखिम बढाउने, अनावश्यक ढिलाइ गराउने र अध्यागमन प्रक्रियामा अवरोध सिर्जना गर्ने भएकाले यस्तो निर्णय गरिएको हो।
साथै, कुनै संस्था, समूह वा कम्पनीको पहिचान झल्किने पोसाक, टोपी, ब्याच वा अन्य चिन्हहरू प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।
“यात्रुबीच फरक व्यवहार भएको आभास हुने, असमानता देखिन सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो,” सूचनामा उल्लेख छ।
कार्यालयले सबै पक्षलाई नयाँ नियमको पालना गर्न आग्रह गर्दै उल्लङ्घन भए कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।
नयाँ व्यवस्थाले अध्यागमन प्रक्रिया थप मर्यादित, समान र सुरक्षित हुने विश्वास लिइएको छ।