काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ। मेयर बालेन शाहको अध्यक्षतामा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बजेट सीमा निर्धारण गरेको छ।
महानगरले जनचाहनाअनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिने गरी बजेट तयार गर्ने जनाएको छ। मेयर शाहले बैठकमा पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए। चालू आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधारका लागि थप रकम छुट्याइने पनि निर्णय गरिएको छ।
महानगरले अब बजेट र नीति कार्यक्रमको अन्तिम तयारी सुरु गर्नेछ। आजै बस्ने ४०औं नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गर्नेछ। सो नगर सभामा मेयर शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र उपमेयर सुनीता डंगोलले बजेट पेश गर्ने कार्यक्रम रहेको छ।