काठमाडौं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीलाई नेपाली भाषाको गौरव गाउने महान दिनका रूपमा अर्थ्याएका छन्।
आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा बोल्दै सभामुख घिमिरेले भानु जयन्ती नेपाली भाषा, संस्कृति र पहिचानसँग गहिरो रूपमा जोडिएको दिन भएको बताए।
उनले भने, “भानु जयन्ती केवल जन्मजयन्ती होइन, यो नेपाली भाषाको गौरव गाउने महान दिन हो। नेपाल मात्र होइन, दार्जिलिङका पहाडसम्म दौरा सुरुवाल, गुन्युचोलो, नरसिंहा र झ्याम्टोको संयोजनले गुञ्जायमान हुनु, र संसारभर नेपाली भाषाको र भानुभक्तको प्रशंसाको सुरुआत हुनु अद्वितीय उदाहरण हो।”
सभामुख घिमिरेले भानु जयन्तीका अवसरमा नेपालीले आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्नुपर्छ भन्दै, यसको संरक्षण र प्रवर्द्धनमा जुट्नुपर्नेमा जोड दिए।
उनले भानु जयन्तीलाई नेपाली भाषा र साहित्यको उन्नयनमा प्रेरणा दिने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। साथै, नेपाली भाषालाई अझ प्रगतिशील बनाउँदै विश्व साहित्यको हिस्सा बनाउने प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।
सभामुखका अनुसार, “भानु जयन्तीजस्ता अवसरहरूले भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्न सशक्त सन्देश दिन्छन्।”