काठमाडौं । अब क्यान्सरको उपचारका लागि आवश्यक पर्ने दुर्लभ र महँगा औषधिहरू नेपालमै निःशुल्क उपलब्ध हुने भएका छन्। स्वास्थ्य सेवा पहुँचमा अभाव झेलिरहेका नेपाली नागरिकका लागि यो एउटा ठूलो राहतको खबर हो।
अन्तर्राष्ट्रिय च्यारिटी संस्था डाइरेक्ट रिलिफले क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधिहरू नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। तीमध्ये पहिलो चरणका औषधिहरू नेपाल आइपुगेका छन् र अब सरकारी अस्पतालमार्फत निःशुल्क वितरण गरिनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले औषधि अभावका कारण विदेश जानुपर्ने बाध्यता हटाउन यस अभियानले ठूलो सहयोग पुर्याउने बताएका छन्। उनले भने, “क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ, राज्यको लगानीविना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं।”
डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई औषधि सहयोग गरेको हो। अबदेखि स्तन, छाला तथा विभिन्न प्रकारका क्यान्सरका उपचारमा अत्यावश्यक औषधिहरू ५ वर्षसम्म नियमित रूपमा उपलब्ध हुनेछन्।
मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा ती औषधिहरू पठाउने व्यवस्था भइसकेको जानकारी गराउँदै थप औषधिहरूको सूची समावेश गर्न पनि पहल थालिने बताएका छन्।
स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले समेत औषधि सहयोग ५ वर्षसम्म निरन्तर हुने स्पष्ट पारे।
मन्त्री पौडेलले नागरिकहरूलाई स्वास्थ्य सुविधा र बीमा कार्यक्रमबारे पर्याप्त जानकारी नहुँदा सेवा नपाउने अवस्था देखिएको भन्दै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसारण गर्न अनुरोध गरेका छन्।