काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किइसकेको बताउँदै अब पछि नफर्कने घोषणा गरेकी छन्। आफ्नै निवास भंगालमा पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रपतिको जिम्मेवारी पार्टीकै निर्णयमा निर्वाह गरेको र अहिले पनि पार्टीकै माटोमा फर्किएको स्पष्ट पारिन्।
“राष्ट्रपति बन्ने निर्णय सजिलो थिएन”
भण्डारीले २०७० सालमा पार्टीले सभामुख बन्न अफर गरेको र पछि राष्ट्रपतिको जिम्मेवारी दिन प्रस्ताव आएपछि आफूले निर्णय गर्न धेरै सोच्नुपरेको बताइन्। “राष्ट्रपति बन्न प्रस्ताव आएपछि रातभर निन्द्रा लागेन,” उनले स्मरण गरिन्, “छोरीहरूले पनि मलाई सोध्थे— बुवाको सपना पुरा गर्न राष्ट्रपतिमा जाँदा के हुन्छ?” उनले थपिन्, “म राष्ट्रपति हुँदा घरमा खुसी थिएन।”
तर राष्ट्रपतिको भूमिकामा रहँदा गरेका निर्णयप्रति कुनै पछुतो नभएको स्पष्ट गर्दै उनले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय सदर गर्नु गल्ती नभएको दोहोर्याइन्।
भण्डारीले राष्ट्रपतिको भूमिकामा पार्टीकै निर्णयमा पुगेको उल्लेख गर्दै पुनः पार्टीमै फर्कनु पनि स्वाभाविक भएको बताइन्। “पार्टीले नै मलाई राष्ट्रपतिको भूमिकामा पठाएको थियो,” उनले भनिन्, “अब म फर्किसकेकी छु, पछि फर्किन्न।”
भण्डारीको सक्रिय राजनीतिमा फिर्तीपछि एमालेभित्र बहस चर्किएको छ। अध्यक्ष केपी शर्मा ओलीसहित उनको पक्षधर नेताहरूले भण्डारीको पुनरागमनप्रति असन्तुष्टि जनाउँदै आएका छन्। पार्टीका सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीसम्म नै यो विषय उठ्दै आएको छ। ओली पक्षधरहरू अध्यक्ष पदमा ओली नै विकल्पहीन रहेको अडानमा छन्।
तर भण्डारीले आफ्ना पक्षमा बोल्ने नेताहरूलाई आतंकित तुल्याउने प्रयास भइरहेको संकेत गरेकी छन्। “कार्यकर्तालाई आतंकित तुल्याउने, बोल्न नदिने र नेतृत्वको आलोचना गर्नेलाई दमन गर्ने प्रवृत्ति बढेको छ,” उनको टिप्पणी थियो।