काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार सम्हाल्ने बित्तिकै देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा आगामी पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।
आज मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा मन्त्री खरेलले पहिलो निर्णयका रूपमा यस योजनालाई अघि सारेका हुन् । कर्मचारीले प्रस्तुत गरेको प्रारम्भिक प्रस्तावलाई संशोधन गरी मन्त्री खरेलले अन्तिम रूप दिँदै तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।
निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० शहरका मुख्य सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइनेछ । यसका लागि पूर्वाधार निर्माण, सेवा प्रदायकको छनोट र प्रविधिगत व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने मन्त्रालयले जनाएको छ ।
मन्त्री खरेलले पदभार ग्रहणका क्रममा कर्मचारीसँग परियोजनाबारे थप सुझाव लिएर परिमार्जन गर्न लगाएका थिए । त्यसपछि अन्तिम रूप दिइएको निर्णयअनुसार, आगामी पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सुविधा सञ्चालनमा ल्याइनेछ ।
यस कदमलाई मन्त्रालयले सूचना प्रवाहलाई सहज, डिजिटल पहुँचलाई सर्वसुलभ र नागरिकलाई प्रविधि–मैत्री बनाउन महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ ।