काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि आफूलाई दम्भी र अहंकारी भन्ने आरोपप्रति कटाक्ष गरेका छन्।
आइतबार एमाले निकट प्रेस चौतारी नेपालले आयोजना गरेको ‘केपी शर्मा ओलीको संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूमा दम्भ र अहंकार नभई सत्य बोल्ने स्वभाव मात्र रहेको स्पष्ट पारे।
सम्पादकहरूसँगको संवादका क्रममा अन्य दलका शीर्ष नेताहरूले आत्मालोचना गरिरहेका बेला ओलीले जेनजी आन्दोलनप्रति कटाक्ष गरिरहेको भन्दै पत्रकारहरूले प्रश्न गरेका थिए।
जवाफमा ओलीले भने, “कतिपयले अझै हेर त, दम्भ र अहंकार भनिरहनुभएको छ। यो अहंकार होइन, सत्य बोल्ने मेरो बानी हो।”
अध्यक्ष ओलीले आफू देश र जनताप्रति बफादार भएर काम गरिरहेको तर त्यही कुराले केहीलाई मन नपरेको बताए।
उनले भने, “कसैलाई मन परे पनि नपरे पनि, यो देश र यसको नागरिकप्रति मेरो बफादारीता छ। मानव जातिप्रति मेरो बफादारीता छ।”
त्यस्तै, ओलीले जेनजी आन्दोलनप्रति समर्थन रहेको उल्लेख गर्दै आफूलाई असफल बनाउन विभिन्न शक्तिहरू सक्रिय रहेको आरोप पनि लगाए।
उनले भने, “मलाई असफल बनाउन अनेक प्रयास भइरहेका छन्, तर म जनताप्रति समर्पित छु र सत्य बोल्नबाट पछि हट्दिन।”