काठमाडौं । नेकपा (एमाले) आगामी ११औँ महाधिवेशनमा २१२७ जना प्रतिनिधि सहभागी हुने भएका छन्। मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने महाधिवेशनका लागि पार्टीले प्रतिनिधि चयनको विस्तृत प्रक्रिया र संख्या स्पष्ट पार्दै मातहतका संरचनाहरूलाई निर्देशन (अपानि) पठाएको केन्द्रीय कार्यालयले जनाएको छ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार पार्टी सदस्य संख्याका आधारमा विभिन्न क्लस्टर बनाएर प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
‘अपानिमा कुन क्षेत्रबाट कति प्रतिनिधि, कसरी चुनिने भन्ने सबै व्यवस्था स्पष्ट छ,’ अधिकारीले भने, ‘जिल्ला कमिटीहरूले यही आधारमा प्रतिनिधि चयन गर्नेछन्।’
के-के क्लस्टरबाट कति प्रतिनिधि?
केन्द्रीय तहबाट ४६४ जना प्रतिनिधि
केन्द्रीय कमिटी — ३५५
अनुशासन आयोग — २९
निर्वाचन आयोग — ३०
लेखा आयोग — २५
केन्द्रीय सल्लाहकार परिषद् — २५
प्रदेश कमिटीहरूबाट ४५ जना
प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिलासहित ५ प्रतिनिधि
भौगोलिक (संघीय निर्वाचन क्षेत्र) आधारमा ११३५ प्रतिनिधि
१६५ निर्वाचन क्षेत्रमा १२०० सदस्य बराबर ४ प्रतिनिधि (एक महिला र एक ४० वर्षमुनिको युवा अनिवार्य)
सदस्य संख्या बढेअनुसार थप प्रतिनिधि
विशेष जिल्लाबाट करिब ४७ प्रतिनिधि
कम्तीमा एक महिलासहित ३ प्रतिनिधि, सदस्य संख्याअनुसार वृद्धि
दलित क्लस्टरबाट कम्तीमा ८१ प्रतिनिधि
५०० सदस्य बराबर १ प्रतिनिधि, संख्या बढेअनुसार वृद्धि, न्यूनतम एक महिला अनिवार्य
श्रमिक क्लस्टरबाट ४९ प्रतिनिधि
७ प्रदेशबाट तीन महिलासहित ७–७ प्रतिनिधि
प्रवास शाखाबाट ३५ प्रतिनिधि
भारत — १० (कम्तीमा तीन महिला)
अमेरिका/क्यानडा, युरोप, एसिया–प्यासिफिक, खाडी, ओसिनिया — प्रत्येक ५ (कम्तीमा दुई महिला)
केन्द्रीय विभागहरूबाट ३२ प्रतिनिधि
केन्द्रीय कार्यालय — १ प्रतिनिधि
जनसंगठनहरूबाट १३७ प्रतिनिधि
अनुसूची–१ अन्तर्गतका ११ संगठनबाट तीन महिलासहित ७–७ प्रतिनिधि
अनुसूची–२ अन्तर्गतका १२ संगठनबाट दुई महिलासहित ५–५ प्रतिनिधि
मनोनयन गरी संख्या २१२७ पुर्याइने
चुनिएका २०२६ प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०१ प्रतिनिधि पार्टी सचिवालयले मनोनयन गर्नेछ।
यससँगै कुल प्रतिनिधि संख्या २१२७ पुग्ने एमालेले जनाएको छ।
पार्टीले यसपटक प्रतिनिधित्वमा भूगोल, समावेशिता, महिला सहभागिता, र युवा प्रतिनिधित्वलाई प्राथमिकतामा राखेको बताएको छ।

