काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग जोडिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा अद्यावधिक भएको छ ।
कुनै समय माओवादी पृष्ठभूमिका रहेका मन्त्री घिसिङले लामो समयदेखि निष्क्रिय रहेको उज्यालो नेपाल पार्टीलाई आफू नजिकका व्यक्तिहरूमार्फत पार्टी अद्यावधिक गराएका हुन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार आयोगमा दर्ता रहेको उज्यालो नेपाल पार्टीको कार्यसमितिमा संशोधन भएको छ । पूर्वसंयोजक ज्ञानबहादुर तामाङको नेतृत्वमा रहेको पार्टीमा अहिले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाइएको छ । उपाध्यायलाई संयोजक बनाउने प्रस्ताव मन्त्री घिसिङकै पहलमा गरिएको जनाइएको छ ।
अद्यावधिक गरिएको उज्यालो नेपाल पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । समितिमा पूर्व संयोजक ज्ञानबहादुर तामाङ पनि सदस्यका रूपमा रहेका छन् ।
पार्टीमा सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी र विगतमा कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल समेत सदस्य रहेका छन् ।

