काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको पहलपछि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय थप्ने तयारी गरेको छ।
मतदाता नामावली दर्तामा देखिएको बढ्दो उत्साह र चापलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुराकानी गर्दै म्याद थप्न आवश्यक रहेको धारणा राखेकी थिइन्।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, “प्रधानमन्त्री र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तबीच टेलिफोन कुराकानी भयो। उहाँहरूबीच मतदाता नामावलीमा नाम दर्ताको समय थप्ने विषयमा छलफल भएको हो,” भनेर जानकारी दिएका छन्।
प्रधानमन्त्रीको आग्रहपछि आयुक्त भण्डारीले ५ दिनसम्म म्याद थप्न सकिने विषयमा सकारात्मक संकेत दिएका छन्।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा अनलाइनबाटै मतदाता नाम दर्ता गर्न मिल्ने व्यवस्था लागू भएपछि बिहीबारदेखि अनलाइन दर्ता गर्नेहरूको असाधारण चाप देखिएको छ।
यसैबीच, प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा उत्पन्न समस्या र सेवाग्राहीले भोग्नुपरेका कठिनाइका विषयमा चासो व्यक्त गरेकी छन्। समस्याको समाधान गर्दै दर्ता प्रक्रिया सहज बनाउन काम भइरहेको आयुक्त भण्डारीले जानकारी गराएका छन्।

