काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र पूर्वप्रतिनिधि सभा सदस्य सन्तोष परियारबीच पाँच बुँदे सहमति भएको छ।
शुक्रबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका परियारसहित तीन पक्षबीच औपचारिक रूपमा सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमति पत्रमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का डा. बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा र सन्तोष परियारले हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा भनिएको छ—
“देशको गम्भीर अर्थ–राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणविरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने तथा नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधिसभाका निवर्तमान सदस्य सन्तोष परियारबीच सहमति सम्पन्न भएको छ।”
यो सहमति नयाँ राजनीतिक विकल्पको निर्माणतर्फ जाने संकेतका रूपमा हेरिएको छ। तीन पक्षले सहमतिका विस्तृत बुँदा चाँडै सार्वजनिक गर्ने जनाइएको छ।

