काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षकत्व रहेको उज्यालो नेपाल पार्टीले आउँदो चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा भवनमा आज आयोजित कार्यक्रममार्फत पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा वर्तमान राज्य व्यवस्थालाई अझै सुदृढ गरेर लैजानुपर्ने र आर्थिक समृद्धिका मुद्दा अगाडि बढाउने उल्लेख छ ।
घोषणापत्रमा भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र प्रशासनिक दुरुपयोगविरुद्ध शून्य सहनशीलताको नीति र कडा कानूनी सजायको व्यवस्था तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने उल्लेख छ । उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्रमा लोकतन्त्रको सबलीकरण र असल राजनीतिक संस्कार पार्टीका प्राथमिकता र नीति हुने जनाएको छ । कानूनको समानता र न्यायपालिकाको स्वतन्त्रता कायम गर्ने प्रतिबद्धता जनाएको पार्टीले न्याय प्रणालीमा सुधार गर्दै छिटो, सुलभ र न्यायपूर्ण न्याय उपलब्ध गर्ने नीति लिने उल्लेख गरेको छ । अल्पसङ्ख्यक, महिला, युवा र उत्पीडित समूहको राजनीतिक सहभागिता बढाउने विशेष कार्यक्रम सञ्चालन गर्ने पनि घोषणापत्रमा भनिएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री कुलमान घिसिङले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावले देशलाई वर्तमान अवस्थाबाट निकास दिने र नवयुवा आन्दोलनलाई संस्थागत गर्ने बताउनुभयो । परिवर्तनलाई संस्थागन गर्नका लागि नागरिक तहबाट एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।
सही व्यक्ति, सही समयमा, सही ठाउँमा पुगेपछि मात्रै देश परिवर्तन हुने भन्दै घिसिङले सही व्यक्तिहरू राजनीतिमा आउनुपर्ने बताए ।

