काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले अस्वीकार गरेको विशेष महाधिवेशनमा हालसम्म करिब ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन्। नाम दर्ताको प्रक्रिया अझै जारी रहेको जनाइएको छ।
पार्टी सभापति शेरबहादुर देउवा र उनीसँग अघिल्लो महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी शेखर कोइराला दुवै विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा केही शीर्ष नेताहरूले बहिस्कार गरे पनि सोही समूहका कतिपय केन्द्रीय नेताहरू भने सहभागी भएका छन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, अघिल्लो महाधिवेशनका उपसभापतिका प्रत्यासी चन्द्र भण्डारी, महेश आचार्य, नरहरि आचार्य, केन्द्रीय नेताहरू विनोदकुमार चौधरी, सुनील शर्मा, उदय शमशेर जबरा, डिला संग्रौला, पुष्पा भुसाल, राजेन्द्र कुमार केसीलगायत नेताहरूको उपस्थिति रहेको छ। साथै कोसी प्रदेशमा विद्रोहपछि मुख्यमन्त्री बनेका र शेखर समूहका नेता मानिने केदार कार्की पनि विशेष महाधिवेशनमा सहभागी भएका छन्।
यसअघि संस्थापन पक्षले जिल्ला–जिल्लाबाट विशेष महाधिवेशनमा सहभागी हुन रोक लगाउँदै आएको भए पनि देउवा समूहकै केही नेताहरू विशेष महाधिवेशनमा उपस्थित भएका हुन्।
विशेष महाधिवेशनमा सहभागी नेता केदार कार्कीले आफू जुनसुकै समूहमा रहे पनि अहिले विशेष महाधिवेशनको पक्षमा उभिएको बताए। उनले नेतृत्व परिवर्तन नगरी प्रतिनिधि सभाको निर्वाचनमा जान नसकिने धारणा व्यक्त गरे।

